२६ असार २०८३, शुक्रबार
सफल उद्यमी महिला

सीताका स्वावलम्बी पाइलाः घरमै ‘तेह्रथुमे ढाका’ उत्पादन, ३०० जनालाई रोजगारी

असार १५, २०८१
विराटनगर
सीताका स्वावलम्बी पाइलाः घरमै ‘तेह्रथुमे ढाका’ उत्पादन, ३०० जनालाई रोजगारी

तेह्रथुमलाई ढाकाका कपडाको राजधानी भनेर चिनिन्छ । जिल्लाबासीका लागि ढाका आम्दानीको राम्रो स्रोत बनिरहेको छ । ‘तेह्रथुमे ढाका’का नामले उत्पादित ढाकाका कपडा विदेशमा समेत निर्यात हुने गरेका छन् ।

null 

यही ढाका उत्पादनसँग जोडिएकी छिन् तेह्रथुम सदरमुकाम म्याङलुङकी सीता दाहाल । गाउँमै घरेलु उद्योग खोलेर सीताले विगत १० वर्षदेखि आफूसहित सयौँ जनालाई ढाकाका कपडासँग जोडेकी छिन् । ३०० जना जतिले उत्पादन गरेको ढाका उनले खरिद गर्ने गरेकी छिन् । ढाकाका सामग्री बनाउनका लागि आफूले ५० जनालाई मशिन नै दिएको उनले बताइन् । ‘५० जना जतिलाई त मैले मशिन नै दिएकी छु,’ उनले भनिन्, ‘अन्य अढाइ सय जतिले धागो आदि कच्चा पदार्थ मबाटै लाने गरेका छन् । अनि कपडा बुनेर ल्याइदिन्छन् ।’

null

सीताले मशिन दिएका म्याङलुङ क्याम्पसका विद्यार्थी र छोरा–छोरी पढाउन सदरमुकाम आएका महिलाहरू छन् । विद्यार्थीहरूले आफ्ना कोठामै तान बुनेर कपडा ल्याइदिने गरेको उनले बताइन् । यसबाट उनीहरूले पढाइ खर्च पनि जुटाउने गरेका छन् ।

अहिले ढाकाका विभिन्न डिजाइन उत्पादन हुन्छन् । तानमा धागाे बुनेर कपडा बनाइन्छ । सीताले रुमाल, साडी, कुर्ता–सुरुवाल, चौबन्दी चोली, दौरा–सुरुवाल, कोट, झोला, टोपी, पर्स र जुत्ता लगायतका विभिन्न कपडा र सामग्री बनाउने गरेकी छिन् । ५० देखि २५ हजार रुपैयाँ मूल्यसम्म पर्ने कपडा र सामग्री आफ्नो उद्योगले उत्पादन गर्ने उनले बताइन् । उनी आफैँ पनि तानमा कपडा बुन्ने गर्छिन् । बजारमा कोठा भाडामा बस्ने महिलाहरू बढी यो पेशामा आबद्ध छन् ।

null

‘हामी धागो र डिजाइन दिएर पठाउँछौ,’ उनले भनिन् ‘उहाँहरूले  बुनेर ल्याइदिनुहुन्छ, हामी त्यसको ज्याला दिन्छाैँ । यस कामबाट एक महिलाले महिनामा १२ देखि १६ हजारसम्म कमाउने गरेको सीताले बताइन् । तान लगेर घरमै बुन्नेहरूले भने ज्यालामा काम गर्ने गरेका छन् । तेह्रथुममा यो व्यवसायले धेरैलाई रोजगारी दिएको छ । घरेलु सामग्री प्रयोग गरेर तान राखिएको हुन्छ । थोरै लगानी गरेर पनि तान जोड्न सकिने र फुर्सदको समयमा कमाइ हुने भएकाले पनि महिलाहरू यसमा जोडिने गरेको सीता बताउँछिन् ।

अहिले ढाका व्यवसायले आम्दानी र रोजगारीसँगै समयको समेत सदुपयोग गरिदिएको सीताको बुझाइ छ । उनका अनुसार  युवायुवती पनि यस पेशाप्रति आकर्षित छन्  । गिट्टी कुटेर जीविका चलाउने महिलाहरू पनि तान बुन्ने काममा आउन थालेका छन् । ‘एक पाथी धानमा दिनभरि काम गर्ने महिलाहरू अहिले महिनाको १५ हजार भन्दा माथि कमाउँछन्,’ उनी सगर्व भन्छिन् ।

null 

सीताको उद्योगबाट उत्पादन भएका सामान पूर्वका धरान, इटहरी, विराटनगर, दमकमा मात्र नभएर काठमाडौंका होलसेल पसलहरूसम्म पुग्ने गरेका छन् । पसलले ‘अर्डर’ गरे अनुसारका सामग्री उत्पादन गरेर दिन्छिन् उनी । हङकङ, साउदी अरेबिया र यूएईमा समेत कोशेलीका रूपमा सामग्री पठाउने गरिएको छ । रङ्ग नजाने तथा आकर्षक बुट्टा भएकाले तेह्रथुमको ढाका विशेष भएको उनको दाबी रहेको छ ।

null 

ढाका व्यवसायमा लाग्दा सीताले केही समस्या पनि झेल्नु परिरहेको छ । सबैभन्दा ठूलो समस्या धागोको रहेको उनले सुनाइन् । नेपालमा काठमाडौंमा भएको एउटा उद्योग मात्रै राम्रो छ । ‘त्यो उद्योगले समयमा धागो पुर्याउन सक्दैन । नगरपालिकाले सहयोग गरे तेह्रथुमकै ढाका व्यवसायीहरूले धागो उद्योग खोल्न सक्थ्यौँ । धागोको व्यवस्थापन भए धेरै उत्पादन गर्न सकिन्छ,’ उनले भनिन् । 

सीताले सामग्री बिक्री गर्न बजारमा पसल खोल्नु परेको छैन । सामान बेच्नका लागि उनले म्याङलुङ बजार आसपास पर्ने आफ्नै गाउँको घरमा ‘न्यू तेह्रथुम ढाका तथा धागो पसल’ खोलेकी छिन् । त्यहाँबाट उनले होलसेल र खुला दुवै तरिकाले बिक्री गर्छिन् । ‘अर्डर’ आउनासाथ बुन्न लगाउने गरेकी छिन् । र स्टाफमार्फत बजारमा पढाउने गरेकी छिन् ।

null

सीताको व्यवसाय राम्रै चलिरहेको छ । यसबाट आफू सन्तुष्ट रहेको उनी बताउँछिन् । घरमै रोजगारी सिर्जना गर्न सक्नु नै आफ्नो सम्पत्ति र सफलता रहेको उनको भनाइ छ । ‘घरमै उद्योग खोलेर जतिलाई रोजगारी दिन सकेकी छु, त्यो नै मेरो सम्पत्ति हो,’ उनले भनिन् ‘यो बचाइ राख्नु मेरा लागि चुनौती रहेको छ । त्यसको सामना गर्न तयार छु ।’


 

salt training

कमेन्ट गर्नुहोस्